२७ असोज कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ। विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारबीच बसेको प्रदेशसभा बैठकले बहुमतको आधारमा बजेट पारित गरेको हो।
बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै सदन बहिष्कारको निर्णय गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताए।आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।कांग्रेसको बहिष्कारका बीच भएको छलफलपछि बजेट पारित गरिएको हो। यसैबीच, बजेट विवाद समाधान गर्न सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी नेकपा भित्र बजेट संशोधन तथा छानबिन गर्ने सहमति भएको छ । नेकपाले संसदीय छानबिन समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको हो ।