२८ असोज बर्दिया । चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्ने क्रम बढेको छ । पछिल्लो पटक ठाकुरबाबा नगरपालिका–३ गोदानास्थित कोपिला सामुदायिक वनमा मङ्गलबार कटुवा पेस्तोल फेला परेको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्लाका विभिन्न स्थानबाट चार वटा बेवारिसे हतियार फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर देउवाका अनुसार स्थानीयको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बगनाहाको टोलीले कोपिला सामुदायिक वनको जङ्गलबाट खिया लागेको कालो रङको कटुवा पेस्तोल बरामद गरेको हो । उक्त पेस्तोल कानुनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बगनाहामा सुरक्षित राखिएको उनले बताए।
यसअघि गत जेठ २४ गते सोही सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको थियो । स्थानीय महिला दाउरा खोज्न जाँदा बन्दुक देखेपछि प्रहरीलाई खबर गरेका थिए ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले गत वैशाखदेखि अवैध हतियार नियन्त्रणका लागि ‘स्विप अपरेसन’ सञ्चालन गरिएकाले बेवारिसे अवस्थामा हतियार फेला पर्ने क्रम बढेको बताए । उनका अनुसार अवैध हतियार नियन्त्रण अभियानले चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौती न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।यसअघि गत साउन २२ गते बढैयाताल गाउँपालिका–७ कर्णालीपुरस्थित सडकछेउको झाडीबाट कटुवा पेस्तोल फेला परेको थियो ।
यस्तै, गत भदौ २४ गते बढैयाताल गाउँपालिका–२ स्थित सिर्जनशील सामुदायिक वनमा बन्दुकमा प्रयोग हुने एक थान नालसहित भरुवा बन्दुक फेला परेको थियो । गत भदौ २५ गते गेरुवा गाउँपालिका–२ बालुवातार जाने सडकछेउको झाडीबाट पनि कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।भारतसँग सीमा जोडिएको बर्दियामा सामुदायिक वन क्षेत्रमा चोरीसिकारी हुने गरेको छ । त्यसलाई मध्यनजर गर्दै प्रहरीले सामुदायिक वन क्षेत्रमा निगरानी बढाउँदै आएको प्रहरी उपरीक्षक पौडेलले बताए ।
प्रहरीको निगरानी बढेपछि अवैध हतियार राख्नेलाई समस्या परेको हुन सक्ने र हतियार लुकाउने क्रममा बेवारिसे अवस्थामा फेला परेको हुन सक्ने उनको भनाइ छ ।जिल्लामा अझै अवैध हतियार हुन सक्ने अनुमान गर्दै प्रहरीले नियन्त्रण अभियानलाई तीव्रता दिएको जनाएको छ । चाडपर्वको समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौती कम गर्न अवैध हतियार नियन्त्रण अभियानलाई निरन्तरता दिइएको प्रहरी उपरीक्षक पौडेलले बताए । रासस