भारतमा डुंगा पल्टिँदा १३ जना बालबालिकाको मृत्यु

भारतमा डुंगा पल्टिँदा १३ जना बालबालिकाको मृत्यु

२८ असोज काठमाडौँ । भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुर क्षेत्रमा गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको छ ।

मंगलबार राति भएको दुर्घटनामा डुंगामा सवार सात जनाको उद्धार गरिएको बीबीसीले लेखेको छ ।स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा दुर्घटना भएको हो । भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको माता महारानी स्थाननजिक सिंहेश्वर रायको घरमा आयोजित भोजमा सहभागी हुन करिब २० जना सानो डुंगामा सवार थिए ।वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार उद्धार गरिएका सात जनालाई नालन्दा मेडिकल कलेज तथा अस्पताल पठाइएको थियो ।

घाइतेमध्ये केहीलाई थप उपचारका लागि पटनासमेत रेफर गरिएको छ । डुंगामा सवार सबै बालबालिकाको उमेर १५ वर्ष वा सोभन्दा कम रहेको उनले बताइन् ।दुर्घटनापछि रातभर उद्धार कार्य जारी राखिएको थियो । घटनास्थलमा राज्य विपद् प्रतिकार्य बल एसडीआरएफ र स्थानीय गोताखोर परिचालन गरिएको थियो । उद्धारका क्रममा १३ जनाको शव फेला परेको जिल्ला अधिकारी सिंहले जानकारी दिइन् ।