बाँकेमा साइबर अपराधका मुद्दा बढ्दै

बाँकेमा साइबर अपराधका मुद्दा बढ्दै

३१ साउन बाँके । बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै गएको देखिएको छ । जिल्लामा पनि साइबर अपराधसम्बन्धी उजुरी लिने र मुद्दा दर्ता गर्ने व्यवस्था गरेसँगै साइबर उपराधसम्बन्धी उजुरी घटदै र साइबर उपराधसम्बन्धी मुद्दा बढदै जान थालेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

आर्थिक वर्षको २०८१-०८२ मा ३०९ साइबर अपराधसम्बन्धी उजुरी परेकामा अहिले ती उजुरी घटेर १३१ पुगेको छ । परेका उजुरीमध्ये मेलमिलाप भएको पनि प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले अहिलेसम्म साइबर उपराधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भएका कारण पनि उजुरी कम हुँदै गएको जानकारी दिनुभयो । परेका उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका थिए ।

विद्युतीय अपराधसँग सम्बन्धीत बाँकेमा परेका पाँच मुद्दामध्ये दुई घटनाको मुद्दा आर्थिक बर्ष २०८१ -०८२ को र तीन मुद्दा आर्थिक बर्ष २०८२ -०८३ को रहेको प्रहरीले जनाएको छ । सो मुद्दामा दुई जना पक्राउ परेर धरौटीमा रिहा भएका छन् भने तीन जना फरार रहेको प्रहरीले जनाएको छ । यी मुद्दा एउटा इलाका प्रहरी कार्यालय, कोहलपुरमा र चार मुद्दा जिल्ला प्रहरी कार्यालय, बाँकेमा दर्ता भएको थियो ।