‘ए मेरो हजुर ५’को शुभमुहूर्तसँगै छायांकन सुरु

‘ए मेरो हजुर ५’को शुभमुहूर्तसँगै छायांकन सुरु

३१ साउन काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्ने सिनेमा ‘ए मेरो हजुर ५’को शुभमुहूर्त गरिएको छ ।निर्माण टिमले  ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरेको हो ।बंगलामुखीमा मुहूर्त सट खिचेसँगै निर्माण टिम छायांकनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको निर्देशक थापाले बताइन् ।निर्देशक थापाले बडीमालिकाजस्तो धार्मिक धरोहरमा सिनेमाको छायांकन गर्न पाउँदा आफूहरू गौरवान्वित भएको उल्लेख गरेकी छन् ।

उनले बडीमालिका धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि भएको बताएकी छन् ।सिनेमामा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा देखिनेछन् । यो उनीहरूको तेस्रो सहकार्य हो । यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ एकसाथ अभिनय गरेका थिए । सिनेमामा यी दुईको जोडीलाई दर्शकले निकै रुचाएका थिए ।सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाका निर्माता सुनिलकुमार थापा हुन् ।