बाढीपहिरोका कारण जाजरकोट–डोल्पा सडक अवरुद्ध, ५ घर र झोलुङ्गे पुल बगायो

बाढीपहिरोका कारण जाजरकोट–डोल्पा सडक अवरुद्ध, ५ घर र झोलुङ्गे पुल बगायो

२९ साउन जाजरकोट । अविरल वर्षाका कारण भेरी कोरिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण नलगाड नगरपालिका– १०, तासुघाट खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालय जाजरकोटअन्तर्गत इलाका प्रहरी कार्यालय रग्दाले दिएको विवरणअनुसार बिहीबार रातिदेखि परेको लगातार वर्षाका कारण तासुघाट खोलामा आएको बाढीले सडक कटान गर्नुका साथै आवतजावत पूर्णरूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि तत्कालका लागि वैकल्पिक बाटोसमेत नरहेको प्रहरीले जनाएको छ ।

यस्तै, नलगाड– १०, रोलीस्थित तासुघाट खोलामाथि रहेको झोलुङ्गे पुलको पश्चिमतर्फको भागसमेत बाढीले बगाएको छ । पुल बगाएपछि घटनास्थलमा उद्धार तथा क्षतिको विवरण संकलनका लागि गएको प्रहरी टोलीसमेत घटनास्थलसम्म पुग्न सकेको छैन ।इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमान्डमा चार जनाको टोली घटनास्थलतर्फ खटाइएको थियो । तर, झोलुङ्गे पुल बगिसकेकाले प्रहरी टोली सम्बन्धित स्थानमा पुग्न नसकेको प्रहरीले जनाएको छ । घटनाको एकिन क्षतिको विवरण आउन बाँकी रहेको छ ।प्रहरीका अनुसार बाढीले रोलीका चार घर बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

पृर्थिबहादुर विकको दुईतले ढुंगा–माटोले बनेको ढुंगाले छाएको घर बगेको छ । उनको परिवारका नौ जना सदस्य भने सुरक्षित स्थानमा बसेका छन् ।त्यस्तै, खैते विकको दुईतले ढुंगा–माटोले बनेको ढुंगाले छाएको घर, नरबहादुर विकको तीनतले ढुंगा–माटोले बनेको ढुंगाले छाएको घर र हस्त विकको दुईतले ढुंगा–माटोले बनेको टिनले छाएको घर बाढीले बगाएको प्रहरीले जनाएको छ । उनीहरूका क्रमशः १०, १० र आठ जना परिवार सदस्य सुरक्षित स्थानमा सरेका छन् ।घटनास्थल इलाका प्रहरी कार्यालय रग्दाबाट करिब एक किलोमिटर पश्चिममा पर्छ । लगातार वर्षा भइरहेकाले थप क्षतिको जोखिम रहेको स्थानीयले बताएका छन् । सडक तथा पुलमा क्षति पुगेपछि भेरी कोरिडोरमार्फत जाजरकोट–डोल्पा आवतजावत प्रभावित भएको छ ।