सुरु भयो तीजपर्व, आज दर खाने

सुरु भयो तीजपर्व, आज दर खाने

२८ भदौ काठमाडौँ । हरितालिका तीज व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ ।विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ ।

दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने अनुभव धर्मशास्त्रविद् प्रा. तोयराज नेपालको छ ।विगत वर्षमा नेपालमा मात्र मनाइने तीजपर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि मनाउन थालिएको छ । तीजको गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालिएको छ ।