२९ भदौ काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनमार्फत निर्वाचित गगन थापा नेतृत्वको संस्थापनले गरेको निर्णय नमान्ने बताएको छ ।आइतबार सभापति गगन थापाको सभापतित्वमा बसेको कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो ।तर, देउवा समूहले पुसमा भएको विशेष महाधिवेशन अवैधानिक भएको जिकिर गर्दै उक्त महाधिवेशनबाट आएको समितिले गरेका निर्णय नमान्ने निर्णय गरेको हो ।

सोमबार बिहान देउवा निवास चुनदेवीमा बसेको बैठकले मंसिरमा महाधिवेशन गर्नका लागि असोज १५ गतेदेखि अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेको नेता दीपक खड्काले जानकारी दिए । संस्थापनले असोजमा १५औँ महाधिवेशन घोषणा गरेकामा यसअघि नै देउवा समूहले मंसिरमा महाधिवेशन तोकेको थियो ।देउवा समूहका खड्काले राजनीतिक छलफल र समझदारी बेगर विशेष महाधिवेशनबाट आएको कार्यसम्पादन समितिले गरेका निर्णय नमान्ने निर्णय बैठकले निकालेको जानकारी दिए ।