विपत्ति आउनु १२ दिनअघि नै ‘अलर्ट’ गराएको थियो चीनले

विपत्ति आउनु १२ दिनअघि नै ‘अलर्ट’ गराएको थियो चीनले

१६ भदौ काठमाडौँ । नेपालमा गत भदौ १० गते आएको भीषण बाढी र पहिरोका कारण ठुलो जनधनको क्षति भइरहेका बेला छिमेकी मुलुक चीनले एक सनसनीपूर्ण दाबी गरेको छ । चीनले नेपालमा निम्तिएको यो प्राकृतिक विपत्तिबारे घटना हुनुभन्दा १२ दिनअघि नै चेतावनी दिएको बताएको हो ।

बाढी र प्राकृतिक प्रकोपको समयमा आवश्यक तथ्याङ्क तथा पूर्वसूचना साझा नगरेको भन्दै चीनको आलोचना भइरहेका बेला बेइजिङले आफ्नो बचाउमा यस्तो स्पष्टीकरण दिएको हो । चीनका अनुसार उसको ‘वर्ल्ड मेट्रोलोजिकल सेन्टर’ ले विपत्ति आउनुभन्दा १२ दिनअघि नै नेपाललाई इमेलमार्फत सम्भावित जोखिमबारे सचेत गराएको थियो । उक्त इमेलमा भारी वर्षा, भूक्षय र आकस्मिक बाढी फ्ल्यास फ्लडको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन भनिएको चीनको दाबी छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा प्रकाशित रिपोर्टअनुसार चीनले आफूमाथि लागेको सूचना लुकाएको आरोपको खण्डन गर्दै समयमै प्राविधिक जानकारी उपलब्ध गराएको जिकिर गरेको हो । यद्यपि, चीनले पठाएको भनिएको उक्त चेतावनीपूर्ण इमेल र सूचनामाथि नेपालका सम्बन्धित निकायहरूको प्रतिक्रिया भने आउन बाँकी छ ।