कमला सकी श्रेष्ठ
२ भदौ काठमान्डौ । आत्महत्या आज नेपालका साथै विश्वभरि नै बढ्दो सार्वजनिक स्वास्थ्य समस्याका रूपमा देखिएको छ। मानसिक तनाव, डिप्रेसन, आर्थिक कठिनाइ, पारिवारिक कलह, परीक्षामा असफलता, बेरोजगारी, वैवाहिक समस्या, लागू पदार्थको दुरुपयोग तथा सामाजिक एक्लोपनजस्ता कारणहरूले आत्महत्याका घटनाहरूको संख्या बढ्दो क्रममा रहेको देखिन्छ।
आत्महत्या भनेको व्यक्तिले आफ्नो जीवन आफैं समाप्त गर्ने जानाजानी गरिएको घातक कार्य हो। यो मनोचिकित्सामा सबैभन्दा गम्भीर आपतकालीन अवस्था मानिन्छ र विश्वव्यापी रूपमा एक प्रमुख जनस्वास्थ्य समस्या हो।
परिभाषा
आत्महत्या (Suicide) भन्नाले व्यक्तिले आफ्नो इच्छाले आफ्नो जीवन समाप्त गर्ने उद्देश्यले गरेको आत्मघाती कार्यलाई जनाउँछ, जसको अन्तिम परिणाम मृत्यु हुन्छ। यो Deliberate Self-Harm (DSH) को एउटा प्रकार हो।
महामारी विज्ञान (Epidemiology)
विश्वभर हरेक वर्ष ७ लाखभन्दा बढी मानिसले आत्महत्या गर्छन्।
१५–१९ वर्ष उमेर समूहमा मृत्युको चौथो प्रमुख कारण आत्महत्या हो।
विश्वका करिब ७७% आत्महत्याका घटना न्यून तथा मध्यम आय भएका देशहरूमा हुन्छन्।
पुरुषहरूमा आत्महत्या गरेर मृत्यु हुने दर बढी हुन्छ भने महिलाहरूमा आत्महत्याको प्रयास बढी देखिन्छ।
नेपालमा राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण (२०१९–२०२०) अनुसार आत्महत्यासम्बन्धी सोच वा व्यवहारको प्रचलन ७.२% रहेको छ।
आत्महत्याका सामान्य तरिकाहरू
झुण्डिएर
अग्लो स्थानबाट हाम फालेर
पानीमा डुबेर
घाँटी वा नसा काटेर
विषादी, विष वा निद्राको औषधि सेवन गरेर
जोखिम कारकहरू (Risk Factors)
४० वर्षभन्दा बढी उमेर
पुरुष लिङ्ग
अविवाहित हुनु
पहिले आत्महत्याको प्रयास गरेको इतिहास
डिप्रेसन
आत्महत्याको विस्तृत योजना बनाउनु
मदिरा वा लागूपदार्थको लत
दीर्घकालीन शारीरिक रोग
ठूलो क्षति वा तनावपूर्ण घटना
सामाजिक एक्लोपन
आवेग नियन्त्रण कमजोर हुनु
आत्महत्याका कारणहरू (Etiology)
१. मानसिक रोग
डिप्रेसन
स्किजोफ्रेनिया
मदिरा तथा लागूपदार्थको निर्भरता
२. शारीरिक रोग
क्यान्सर, एड्स जस्ता असाध्य वा पीडादायक रोग
३. मनोसामाजिक कारण
परीक्षामा असफलता
वैवाहिक समस्या
पारिवारिक विवाद
आर्थिक समस्या
प्रिय व्यक्तिको मृत्यु
सामाजिक एक्लोपन
४. आनुवंशिक कारण
परिवारमा आत्महत्याको इतिहास भए जोखिम बढ्न सक्छ।
आत्महत्याबाट जोगाउने (Protective) कारक
तनाव व्यवस्थापन गर्ने क्षमता
समयमै मानसिक स्वास्थ्य उपचार
परिवार तथा समुदायको सहयोग
घातक साधनमा पहुँच सीमित हुनु
समस्या समाधान गर्ने सीप
भविष्यप्रतिको आशा र सकारात्मक सोच
आत्महत्याका चेतावनी संकेत (Warning Signs)
धेरै समयसम्म उदास रहनु
निराश महसुस गर्नु
परिवार वा साथीहरूबाट टाढिनु
धेरै वा निकै कम सुत्नु
सधैं थकित महसुस गर्नु
मृत्यु वा आत्महत्यासम्बन्धी लेख वा नोट लेख्नु
दैनिक गतिविधिमा रुचि हराउनु
व्यवस्थापन (Management)
चिकित्सा व्यवस्थापन
बिरामीको शारीरिक अवस्था तत्काल स्थिर बनाउने।
आवश्यक परे मनोचिकित्सकीय वार्डमा भर्ना गर्ने।
आवश्यकता अनुसार औषधि तथा मनोचिकित्सकीय उपचार गर्ने।
आत्महत्या रोकथाममा नर्सको भूमिका
बिरामीमा आत्महत्याको जोखिम (Suicide Risk Assessment) को मूल्याङ्कन गर्ने तथा चेतावनी संकेतहरू (Warning Signs) पहिचान गर्ने।
सामाजिक सञ्जाल वा सञ्चार माध्यममा आत्महत्याका तरिका (Methods and Means) लाई प्रचार–प्रसार वा महिमामण्डन गर्ने समाचार तथा सामग्री प्रकाशित हुन नदिन सचेत रहने।
बिरामीसँग विश्वासपूर्ण (Therapeutic) सम्बन्ध कायम गर्ने। शान्त वातावरणमा सक्रिय रूपमा ध्यानपूर्वक समस्या (Active Listening) सुन्ने।
बिरामीलाई आफ्ना भावना र पीडा खुलाएर व्यक्त (Ventilate Feelings) गर्न प्रोत्साहित गर्ने तथा नआत्तिई धैर्यपूर्वक कुराकानी गर्ने।
आत्महत्याका लागि प्रयोग गर्न सकिने साधन वा माध्यम (Means) बिरामीको पहुँचबाट हटाउने।
बिरामीको वरिपरि “No Suicide Pad” वा आत्महत्या रोकथामसम्बन्धी सुरक्षा उपायहरूको व्यवस्था गर्ने।
बिरामीका सकारात्मक पक्ष, क्षमता (Strengths) र सम्भावनाहरू पहिचान गरी त्यसमा केन्द्रित गराउने।
बिरामीको ध्यान सकारात्मक गतिविधितर्फ मोड्ने तथा सकारात्मक सामना गर्ने सीप (Positive Coping Skills) विकास गराउने, जस्तै– हिँड्ने, योग गर्ने, खेल खेल्ने आदि।
बिरामीलाई एक्लै नछोड्ने तथा आवश्यक परे निरन्तर निगरानी (Close Observation) गर्ने।
मानसिक स्वास्थ्य समस्याको पहिचान गरी समयमै उचित उपचार तथा परामर्शको व्यवस्था गर्ने।
बिरामीसँग आत्महत्यासम्बन्धी विचार वा योजना छ कि छैन भन्ने कुरा खुला रूपमा सोध्ने तथा आवश्यक परे परिवारलाई जानकारी गराई सहयोग लिन प्रेरित गर्ने।
आवश्यक परे आत्महत्या रोकथाम हेल्पलाइन ११६६ वा आकस्मिक मानसिक स्वास्थ्य सेवाको सम्पर्क नम्बर उपलब्ध गराउने तथा तुरुन्त विशेषज्ञसँग सम्पर्क गराउने।
कमला सकी श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नर्सिङ उप–नियन्त्रकको रुपमा कार्यरत हुनुहुन्छ । साभार हेल्दी खवरबाट