२ जेठ बाँके । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका ७५१ घरटहरा हटाएको छ । करिब चार दिनको अवधिमा कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान नजिकै अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाइएको हो ।कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आर्चायले अधिकांशले आफ्ना, झ्याल, ढोकाजस्ता सामग्री आफैँ लिएर गएको जानकारी दिँदै त्यहाँ बाँकी रहेका घरटहरा हटाइएको बताए । उनले वास्तविका सुकुमवासीलाई नगरपालिकाले जीवन निर्वाह भत्ता दिएर भए पनि व्यवस्थापन गर्ने जानकारी दिँदै ‘होल्डिङ सेन्टर’मा बस्नेहरू पनि घट्दै गएको जानकारी दिए ।
बस्ती भत्काउने विषय रहरको विषय नभएको उल्लेख गर्दै नगरप्रमुख आर्चायले आधारभूत आवश्यक्ता पूरा गर्ने उद्देश्यले पहिलो दिन झूल वितरण गरिएको र २५ केजी चामल, पाँच केजी दालसहित खाद्यान्नको करिब पाँच लाख बराबरको ‘प्याकेज’ बनाएर तयारी अवस्थामा थियो तर, वितरणमा थप कठिनाइ भएपछि त्यसलाई स्थगन गरेर सूचना प्रकाशन गरिएको बताए । हाल नगरपालिकालाई १०२ घरको विवरण प्राप्त भएको छ ।