आज संसदमा मिटर ब्याज सम्वन्धि विधेयक अघि वढाउने तयारी

आज संसदमा मिटर ब्याज सम्वन्धि विधेयक अघि वढाउने तयारी

शुक्रबार, २२ असार, २०८०,

काठमाडौं,

मिटरब्याजपीडितलाई न्याय दिनका लागि कानुनी व्यवस्था गर्न सरकारले ल्याएको विधेयक संसद्मा अघि बढ्ने भएको छ । सरकारले अध्यादेश ल्याएर मिटरब्याजपीडितलाई न्याय दिनका लागि कानुनी व्यवस्था गरेको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट संसद्मा दर्ता भएको ६० दिनभित्र पारित नहुँदा कानुनी शून्यता रहेको छ ।

राष्ट्रिय सभाबाट पारित भएर आएको अध्यादेश प्रतिस्थापन विधेयक ’मलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८०’ बुधबार प्रतिनिधिसभाबाट पारित गर्ने प्रयास भएको थियो । बुधबार नै पास गरी प्रमाणीकरणका लागि राष्ट्रिय सभामा पठाएर त्यहाँ सन्देश सुनाई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले असार १८ मा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालगायतले संसद् अवरोध गरेका थिए । प्रतिपक्षी दलहरूको अवरोधले संसद् बैठकको कारबाही अघि बढ्न नसकेपछि विधेयक पास हुन सकेको थिएन । जसका कारण मिटर ब्याजका बारेमा गरिएका कानुनी व्यवस्थामा रिक्तता आएको थियो ।

प्रतिनिधिसभाले शुक्रबारको बैठकमा उक्त विधेयकलाई अगाडि बढाउने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । ’मलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८०’लाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेस गर्ने, दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

राष्ट्रियसभाबाट असार १५ मा पारित भएको मिटरब्याजसम्बन्धी अध्यादेशको प्रतिस्थापन गर्न मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेर प्रतिनिधिसभामै रहेको छ । संविधानअनुसार अध्यादेश निष्क्रिय भए पनि विधेयक यथावत् रहेको भन्दै प्रतिनिधिसभाको शुक्रबारको बैठकमा यो विधेयक पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।

मिटरब्याजीसम्बन्धी अध्यादेश सरकारको लापरबाहीले निष्क्रिय भए पनि संसद् सचिवालयले प्रतिस्थापन विधेयकलाई पारितको चरणमा अघि बढाउने भएको छ ।

प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले असार १८ मा दिएको अभिव्यक्तिबारे प्रष्ट पार्ने तयारी भइरहेको बताइएको छ । त्यसपछि संसद् अवरोध नभए मिटर ब्याज पीडितहरूलाई न्याय दिन भनेर ल्याइएको विधेयक पारित हुनेछ र कानुनी शून्यता हट्नेछ ।