२१ भदौ काठमाडौं । नेपालले लगातार तेस्रो जित निकाल्दै एक खेलअगावै एसीसी प्रिमियर कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । आइतबार मलेसियाको बायोमास ओभलमा नेपालले साउदी अरेबियालाई पाँच विकेटले हराएको हो ।साउदीले प्रस्तुत गरेको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । नेपालका गुल्सनकुमार झाले अविजित ४४, इशान पाण्डेले ४०, देव खनालले ३९, रोहितकुमार पौडेलले अविजित २४, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाए ।
लगातार तेस्रो जितसँगै तीन खेलबाट ६ अंक जोडेको नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ । नेपालले यसअघि बहराइन र मलेसियालाई हराएको थियो ।तेस्रो पराजय व्यहोरको साउदीले भने चार खेलबाट दुई अंकका साथ प्रतियोगिताको अन्त्य गरेको छ । हङकङ र मलेसियासँग पनि पराजित साउदीले बहराइनलाई हराएको थियो ।नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्नेछ ।