१२ मंसिर बाजुरा । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पाँचजना घाइते छन् । जिल्लाको पूर्वीउत्तरी क्षेत्र जगन्नाथ गाउँपालिका–३, दाउणामा शुक्रबार मंसिर ११ साँझ ट्याक्टर दुर्घटना भएको हो ।दुर्घटनामा परेर दुईजनाको घटनास्थलमा नै मृत्यु र चालकसहित ट्याक्टरमा सवार पाँचजना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।मृत्यु हुनेमा जगन्नाथ–३, मनिकाँडाका अन्दाजी ४५ वर्षीय धनरूप शाही र ३५ वर्षका धर्म शाही छन् ।
पिलुचौर बजारबाट मनिकाँडातर्फ जाँदै गरेको सुपप्र ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ५०० मिटर तल खसेको थियो । घटनाबारे यकिन विवरण संकलन र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।ट्याक्टरका चालक अछामको रामारोशन गाउँपालिका–४ का अन्दाजी २१ वर्षका नवीन बोहरा, बाजुराको जगन्नाथ–३, मनिकाँडाका ४० वर्षीय बिउरा ओड, २२ वर्षीया संगीता शाही, ४५ वर्षीया सिद्धा ओड र ५२ वर्षीया रामसरादेवी सिंह घाइते भएका र कोल्टी अस्पतालमा उनीहरूको उपचार भइरहेको उनले बताए ।