बंगलादेशमा प्रहरी चौकी र बीएनपी सांसदको घरमा आगजनी, तीनजनाको मृत्यु

बंगलादेशमा प्रहरी चौकी र बीएनपी सांसदको घरमा आगजनी, तीनजनाको मृत्यु

३ मंसिर काठमाडौं । बंगलादेशमा मंगलबार र बुधबार पुनः राजनीतिक हिंसा भड्किँदा तीनजनाको मृत्यु भएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जको टुंगीपाडामा प्रतिबन्धित अवामी लिग र छात्र लिगका कार्यकर्ताहरूले प्रहरी चौकीमा आक्रमण गरी आगजनी गरेका छन् ।

उनीहरूले हिरासतमा रहेका आफ्ना कार्यकर्तालाई छुटाएर लगेको प्रहरीले जनाएको छ । गोपालगञ्ज, फरिदपुर र नारायणगञ्जमा भएका हिंसात्मक घटनामा तीनजनाको मृत्यु भएको छ ।गोपालगञ्जमा बीएनपी सांसद एसएम जिलानीको घर र गाजीपुरमा पूर्वमन्त्री एकेएम मोजम्मेल हकको घरमा पनि आगजनी गरिएको छ । राजधानी ढाकामा कैयौँ बस जलाइएका छन् भने दुई स्थानमा देसी बम विस्फोट भएका छन् ।मंगलबार साँझ अवामी लिग र छात्र लिगका कार्यकर्ताहरूले जुलुस निकाल्दै टुंगीपाडा प्रहरी चौकी घेराउ गरेका थिए । त्यसपछि चौकीभित्र प्रवेश गरी तोडफोड र आगजनी गर्नुका साथै पार्किङ गरिएका सवारीसाधन जलाएका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास, रबरको गोली र साउन्ड ग्रेनेड प्रहार गरेको थियो ।