३० भदौ काठमाडौं । इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा निर्धारित समयभित्र ओभर पूरा गर्न नसकेपछि पाकिस्तानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले दोहोरो कारबाही गरेको छ ।आईसीसीका अनुसार पाकिस्तानका खेलाडीलाई खेल शुल्कको अधिकतम ५० प्रतिशत जरिवाना गरिएको छ भने विश्व टेस्ट च्याम्पियनसिप डब्लूटीसी को ११ अंक पनि कटौती गरिएको छ ।
बर्मिङ्घममा भएको तेस्रो टेस्टमा पाकिस्तान निर्धारित लक्ष्यभन्दा ११ ओभर कम बलिङ गरेको पाइएपछि कारबाही गरिएको आईसीसीले जनाएको छ। समयको छुटलाई समेत हिसाब गरेपछि पाकिस्तान ११ ओभर कम परेको थियो ।आईसीसीको आचारसंहिताअनुसार निर्धारित समयमा एक ओभर कम बलिङ गरेबापत खेलाडीलाई आफ्नो खेल शुल्कको ५ प्रतिशत जरिवाना हुन्छ। यस्तो जरिवाना अधिकतम ५० प्रतिशतसम्म हुन सक्छ। त्यसैले पाकिस्तानका खेलाडीले अधिकतम ५० प्रतिशत खेल शुल्क गुमाएका हुन् ।