आज भाद्रपद शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै

आज भाद्रपद शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै

३० भदौ काठमाडौँ । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म सकी तीज व्रतको पारायण गरेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । यस वर्ष चौथी तिथि टुटी तीज व्रतको भोलिपल्ट नै ऋषिपञ्चमी पर्व परेकाले व्रत पारायण सकेपछि पञ्चमी स्नानलगायत कर्म गर्नुपर्ने धर्मशास्त्रीहरुको मत छ ।

हरितालिका तीजको व्रत एवं पूजा आजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद् प्रा।डा। देवमणि भट्टराईले जानकारी दिए ।