२२ भदौ काठमान्डौ । नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै एआईबाट बनाइएको तस्बिर प्रयोग गरेर भ्रम फैलाइएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ।गत भदौ १० गतेको भोटेकोशी बाढीले देवीघाटमा रहेको पक्की पुल बगाएपछि विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ जोड्ने गरी तादी नदीमाथि ६० मिटर लामो एक्रोब्रिज जडानको काम भइरहेको छ।त्रिदेशीय मार्गअन्तर्गत गल्छी–बेत्रावती खण्डमा पर्ने उक्त पुल निर्माणको काम नेपाली सेनाले सुरु गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं कमेडियन हिमेश पन्तले आइतबार बिहान फेसबुकमा देवीघाटमा बेलीब्रिज निर्माण तीव्र रूपमा भइरहेको भन्दै पुल तयार भइसकेको जस्तो देखिने तस्बिर सार्वजनिक गरेका थिए।
तर त्यहाँ बनिरहेको चाहिँ एक्रो ब्रिज हो ।उनले उक्त कामलाई ‘फास्ट डेभलपमेन्ट’को उदाहरणका रूपमा समेत प्रस्तुत गरे। तर देवीघाटमा अहिले बेलीब्रिज नभई अमेरिकी मोडेलको एक्रोब्रिज जडान भइरहेको बताइएको छ।पूर्वखानेपानी सचिव भीमप्रसाद उपाध्यायले पनि त्यही एआईबाट निर्मित तस्बिर प्रयोग गर्दै विदुर वारिपारि जोड्ने नयाँ एक्रोब्रिजको वर्तमान अवस्था भन्दै सामाजिक सञ्जालमा सामग्री राखेका छन्।उनले अमेरिकाको एक्रो कोअर्पोरेशनको पेटेन्ट रहेको मोडुलर प्रिफ्याब्रिकेटेड पुल सात दिनमै तयार हुन सक्ने दाबी गरेका थिए। उनले उक्त पुल बेलीब्रिज नभएको उल्लेख गर्दै बेलायती पेटेन्टप्राप्त बेलीब्रिज पनि सात दिनमै तयार गर्न सकिने तर्क गरेका छन्।