९ भदौ लुम्बिनी । लुम्बिनी सरकारमा नेकपाका ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । यो सँगै सरकारले पूर्णता पाएको छ ।बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष नवनियुक्त स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारूले शपथ ग्रहण गरेका हुन् ।शपथ समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँडकेसीलगायतको विशेष उपस्थिति थियो ।
मन्त्रिपरिषद् पुनर्गठनसँगै तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकासमन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।