जाजरकोटमा औषधी व्यवसायीको कुटपिट बाट मृत्यु, पाँच जना पक्राउ

जाजरकोटमा औषधी व्यवसायीको कुटपिट बाट मृत्यु, पाँच जना पक्राउ

१ भदौ जाजरकोट। जाजरकोटमा कुटपिट गरी एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय जाजरकोटले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कुटपिटबाट गम्भीर घाइते भएका दैलेख नारायण नगरपालिका घर भई जाजरकोट भेरी नगरपालिका ११ जगतिपुरमा औषधी पसल गरी बस्ने ३२ वर्षीय दीपक कुमार थापाको उपचारका क्रममा मृत्यु भएको हो।

गत साउन २५ गते बेलुका अङ्दाजी ९ बजे भेरी नगरपालिका १० नुवागाउँस्थित स्थानमा थापालाई भेरी नगरपालिका ८ बस्ने ३३ वर्षीय बिरेन्द्र खत्रीसहितको समूहले हातमुक्का प्रयोग गरी कुटपिट गरेको थियो। कुटपिटबाट घाइते भएका थापालाई उपचारका लागि मिसन अस्पताल चौरजहारी रुकुम पश्चिम लगिएको थियो।त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज केयर सिटी अस्पताल लगिएकामा उपचारकै क्रममा साउन २८ गते बिहान १.२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भेरी नगरपालिका ८ का ३३ वर्षीय बिरेन्द्र खत्री, वडा नं ९ का २१ वर्षीय निरज रोकाय, सोही वडाका २१ वर्षीय शिशिर योगी गोसाई, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय बिनोद गोसाईलाई साउन २९ गते पक्राउ गरेको छ।