३१ साउन जाजरकोट । जाजरकोट जिल्लाको भेरी नगरपालिका १ खारुलामा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा ५४ वर्षीया उमा सिंह खत्री र उनकी ८३ वर्षीया आमा रति खत्री छन् । सोही ठाउँको रिसांगमा पहिरोमा परि ६० वर्षीय राम बहादुर शाही गम्भीर घाइते भएका छन् भने ४५ वर्षका सिद्धि बहादुर कामी सामान्य घाइते भएका छन् ।दुवै जनालाई जिल्ला अस्पताल जाजरकोट लगिएको थियो ।शाहीलाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरेको गरिएको छ । रिसांग र रूलामा आठ घर पहिरोले पुरिएको छ ।
पहिरोमा ४५ वर्षिय सिद्दीबहादुर कामीको ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य छ। भेरी–२ चिसापानीकी ५७ वर्षिया भद्रावली कार्कीको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।यस्तै, डौरीकाँडाका ४५ वर्षीय मनवीर चदराको टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम छ। उनको उद्धारका लागि अस्थायी प्रहरी पोष्ट रावतगाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुङ्गानाको नेतृत्वमा पाँच जनाको टोली खटिएको छ।पहिरोमा १६ वर्षिया मनिषा विक र ४७ वर्षिया मोतिकला विक पनि घाइते भएका छन् । दुवैको अवस्था मध्यम छ। मोतिकलाको हातखुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।