खजुरा क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन हुने

खजुरा क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन हुने

९ साउन बाँके । बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन हुने भएको छ । क्यान्सर अस्पतालको आग्रहमा बागेश्वरी यातायात प्रालिले क्यान्सरका बिरामीको आवागमन सहजताका लागि अस्पतालसम्म पुग्नेगरी नगर बस सञ्चालन गर्ने भएको हो ।क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा।निरज भट्टराई र बागेश्वरी यातायत प्रालिका अध्यक्ष मनप्रसाद आचार्यबीच आज ४० किलोमिटर नगर बस सञ्चालनसम्बन्धी सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सहकोषाध्यक्ष शोभाखर पौडेलले जानकारी दिए ।दुर्गम गाउँबाट अस्पतालसम्म पुग्न बिरामीले सवारीसाधन अभावमा भोग्दै आएका समस्या समाधान गर्दै बिरामीको सहजीकरणका लागि अस्पतालको आग्रहमा बस सञ्चालन गर्न थालिएको प्रालिका अध्यक्ष आचार्यले बताए । उनले पहिलो चरणमा सम्झना चोकबाट क्यान्सर अस्पतालको गेटसम्म दुईवटा बस सञ्चालन गरिने बताउँदै बिरामीको चाप र आवश्यकतालाई हेरेर पछि सेवा थप गर्न सकिने उल्लेख गरे ।

अस्पतालसम्म सिधैँ आउने सवारीसाधन नपाएर अलमलमा पर्ने गरेका बिरामीलाई नगर बस सञ्चालनले सहज हुने अस्पतालका कार्यकारी निर्देशक डा भट्टराईको भनाइ छ ।अध्यक्ष आचार्यका अनुसार अर्को सातादेखि सञ्चालन हुने नगर बसले खजुराबाट नेपालगन्जका लागि रु ४०, राँझा चोकसम्म रु ५०, कोहलपुरसम्मका लागि रु १०० र सम्झना चोकसम्मका लागि रु १२५ सेवा शुल्क तोकिएको छ ।कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट क्यान्सरको उपचार गर्न खजुरा क्यान्सर अस्पताल आउने बिरामीले अस्पतासम्म पुग्ने सवारीसाधन नपाउँदा समस्या भोग्दै आएका थिए ।