दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु, ६ जना पक्राउ

दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु, ६ जना पक्राउ

१७ जेठ दाङ । करेन्ट लगाएर माछा मार्ने क्रममा दाङमा एकजनाको मृत्यु भएको छ । बबई गाउँपालिका–७ बेलासपुर र कृष्णपुरघाट क्षेत्रमा शनिबार माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका–४ हिरापुरका ४७ वर्षीय भोजराज केसीलाई करेन्ट लागेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमप्रसाद पराजुलीका अनुसार केसीसहित सातजनाको टोलीले ब्याट्रीबाट करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा उनी घाइते भई बेहोस भएका थिए । केसीलाई तत्काल उपचारका लागि एम्बुलेन्समार्फत राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकामा उपचारकै क्रममा मृत्यु भएको उनले बताए ।घटनापछि प्रहरी चौकी चिराघाटबाट प्रहरी सहायक निरीक्षक हिरालाल सेन्चुरीको नेतृत्वमा तथा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले शान्तिनगर गाउँपालिका–४ का रामप्रसाद पाण्डे, सोही ठाउँका मेखलाल रेउले, गणेश अधिकारी, युवराज भण्डारी र सङ्गम पाउ तथा शान्तिनगर गाउँपालिका–३ का गोविन्द सुवेदीलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस