रास्वपामा रवि-स्वर्णिम केमेस्ट्री

39Shares
रास्वपामा रवि-स्वर्णिम केमेस्ट्री

५ जेठ, काठमाडौं । एकातिर ‘सम्पूर्ण रुपमा’ लामिछाने निर्भर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको छवि, अर्कातिर ‘एउटा व्यक्तिले चमत्कार नगर्ने’ स्वर्णिम वाग्लेको अडान । एकातिर लामिछानेका राष्ट्रवादी तर्कहरु, अर्कातिर वाग्लेका उदार लोकतान्त्रिक भाष्य । एकातिर मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा रहेका लामिछाने, अर्कातिर यसका मुखर पक्षधर वाग्ले । यस्ता थुप्रै विरोधाभास सहित अहिले उनीहरु एउटै पार्टीको छातामुनि छन् ।

कान्छो दल रास्वपाका कान्छा सदस्य हुन् अर्थशास्त्री डा. स्वर्णिम वाग्ले । पोहोर असारमा रास्वपा खुल्दा स्वर्णिम कांग्रेसलाई बलियो बनाउने अभियानमा सामेल थिए । मंसिरको आम चुनावमा उनी कांग्रेसलाई नै जिताउने अभियानसहित आम चुनावको घोषणापत्र लेख्दै थिए । कांग्रेसमा टिकट नपाएसँगै बिच्किएका उनी अर्को कुनै ठूलो निर्णय लिने योजनामा भने थिएनन् । यसै क्रममा आइपुग्यो वैशाखे उपचुनाव । तनहुँ १ मा कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति चुनिएसँगै स्वर्णिम र मतदाता दुवैका लागि नयाँ अनुभव गर्ने ‘स्वर्णिम अवसर’ आयो ।