सोमबार, २ साउन, २०८०,
काठमाडौं,
काठमाडौं फर्किन लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी विमान चालकदललाई आवश्यक पर्ने अक्सिजन अभावले मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टादेखि रोकिएको छ ।
उक्त विमानबाट काठमाडौं फर्किन लागेका १ सय ५२ यात्रु विमानस्थलमा अलपत्र परेको निगमको अपरेसन विभागका एक उच्च अधिकारीले नयाँ शिरालाई बताए ।
निगमले ७ दिनदेखि काठमाडौंमा ग्राउन्डेड भएको नाइन नोभेम्बर–अल्फा किलो ह्विस्की (नेपाली नाम सगरमाथा) भएको विमानलाई आइतबार भारतीय इन्जिनियरहरू झिकाई मर्मत गरेर सोमबार राति १० बजे मलेसिया उडाएको थियो । विमान अभावले आइतबारको मलेसिया उडान रद्द हुदा सयौं यात्रुलाई निगमले आफ्नै खर्चमा काठमाडौंमा होटलमा राखेर केहीलाई सोमबारको उडानमा यसै विमानबाट मलेसिया पठाएको थियो । यही विमानको ककपिटको अक्सिजन अभाव भएपछि त्यहाँबाट नेपाली सयमअनुसार बिहान ३ बजे उड्नुपर्ने जहाज ९ बजेसम्म उडेको थिएन ।
यो विमान मलेसियाबाट भैरहवा हुँदै बिहान ९ः३५ बजे काठमाडौं अवतरण गर्ने तालिका थियो । तर, समयमै काठमाडौं नफर्किएका कारण यस्को दिउसो बैंगलुरुको उडान प्रभावित भएको छ । बैंगलुरुका लागि १ सय ३६ यात्रुले टिकट लिइसकेका छन् । त्यस्तै आजै बेलुकी मलेसियाका लागि राखिएको उडान पनि प्रभावित हुने निगमका अधिकारीहरूले बताएका छन् ।