शुक्रबार, २९ असार, २०८०,
काठमाडौं,
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । दक्षिण तथा मध्यएसिया हेर्ने लु केही दिनदेखि दक्षिण एसियाको भ्रमणमा रहेका छन् ।
सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ । साथै उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम तय भएको छ ।
स्रोतका अनुसार उक्त भेटवार्ताको क्रममा लुले नेपालमा ऊर्जा र पूर्वाधार विकासमा अमेरिकी ५०० मिलियन डलर अनुदानको कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्नेछन् ।
साथै, उनले दूतावासका कर्मचारीहरूलाई पनि भेट्ने कार्यक्रम छ । दूतावासका अनुसार लुले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम छ । नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उक्त संस्थाले गरेका प्रयासबारे पनि बुझ्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।