सोमबार, २५ असार, २०८०,
काठमाडौं,
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आइतबारदेखि तारिखमा रहेका छन् आइतबार सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा प्राप्त भएपछि उनि तारिखमा छन् ।
भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारिखमा रहेको उनले उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमा भने ’आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु । भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।’
मेयर शाहलाई सर्वोच्च अदालतले असार १२ गते मंगलबार सात दिनभित्र लिखित जवाफ लिएर आफैँ अदालतमा हाजिर हुन आदेश दिएको थियो ।
मेयर शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् ।
बालेनले बलिउड फिल्म ‘आदिपुरुष’ समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए ।
त्यसपछि चलचित्र संघले उच्च अदालत पाटनमा हालेको रिटमा अदालतले हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
मेयर बालेनले उच्च अदालतको आदेश नमान्ने आशयको अभिव्यक्ति दिएका थिए ।