डाकनेश्वरी नगरपालिकाकी उपमेयर नक्कली नागरिकता लिएको आरोपमा पक्राउ

69Shares
डाकनेश्वरी नगरपालिकाकी उपमेयर नक्कली नागरिकता लिएको आरोपमा पक्राउ

बुधबार, २० असार, २०८०,

काठमाडौं,

सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको हो ।

उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार नै प्रहरीलाई नागरिकता कसुरमा उपमेयर यादवविरुद्ध अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

उपमेयर मीरा र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको र नक्कली प्रमाण खडा गरी नेपाली नागरिकता लिएको भन्दै डाकनेश्वरी नगरपालिका वडा न.– ४ का कृष्णकुमार यादव उजुरी लिएर प्रहरीकामा पुगेका थिए । तर प्रहरीले उजुरी नलिएपछि यादवले उच्च अदालतमा उजुरी दिएका थिए ।

रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रहरीलाई मुद्दा दर्ता गरी पक्राउ गर्न परमादेश जारी गरेको थियो ।

उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौलनिवासी रहेको दाबी उजुरीमा गरिएको छ ।

उपमेयर यादवका पति महेन्द्र भने फरार छन् । उनको खोजविन भइरहेको प्रहरीले जनाएको छ ।