१३ मंसिर बर्दिया । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बर्दियाको गुलरियामा जारी टेनिसको खेलमा उपाधिका लागी पुरुष डबल्सतर्फ नेपाली सेनाका प्रणभ खनाल र राजविर प्रधान तथा गण्डकी प्रदेशका करणबहादुर थापा र प्रदीप खड्का बिच खेल हुने छ । यसै गरी मिक्स डबल्स तर्फ उपाधिका लागी नेपाली सेनाका प्रणभ खनाल र स्वस्तिका विष्टको जोडिले नेपाली सेनाकै राजविर प्रधान र शिवाली गुरुङ विच खेल हुने छ । यस अघि पुरुष डबल्सतर्फ नेपाली सेनाका राजवीर प्रधान र प्रणभ खनाल तथा गण्डकी प्रदेशका प्रदीप खड्का र करणबहादुर थापा फाइनलमा प्रवेश गरेका हुन । शनिबार भएको पुरुष डबल्सतर्फको सेमिफाइनल खेलमा आर्मीका राजवीर प्रधान र प्रणभ खनालले नेपाल प्रहरीका निहाल जंगबहादुर थापा र दर्सिल श्रेष्ठलाई ६–३, ६–० को स्कोरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।मिक्स डबल्सतर्फ शुक्रबार भएको सेमिफाइनल खेलमा आर्मीका शिवाली गुरुङ र राजवीर प्रधानले बागमतीका प्रकृति श्रेष्ठ र निशान श्रेष्ठलाई ७–६, ६–१ को स्कोरले तथा नेपाली सेनाका प्रणभ खनाल र स्वस्तिका विष्टले गण्डकीका शक्ति शर्मा र आहाना शेरचनलाई ६–०, ६–० को स्कोरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।
पुरुष सिंगल्सतर्फको सेमिफाइनल खेलमा गण्डकीका प्रदीप खड्काले नेपाल आर्मीका प्रणभ खनाललाई ६–२, ७–६, ७–५ को स्कोरले र गण्डकीका करणबहादुर थापाले बागमतीका निशान श्रेष्ठलाई ६–२, ६–२ को स्कोरले पराजित गरी फाइनलमा प्रवेश गरेको टेनिस प्रतियोगिताका सहायक निर्णायक सूर्य भूषण बज्राचार्यले जानकारी दिनु भयो ।शनिबार महिला डबल्सतर्फ भएको फाइनल खेलमा आर्मीकी शिवली गुरुङ र स्वस्तिका विष्टले बागमतीकी प्रज्ना मानन्धर र प्रकृति श्रेष्ठलाई ६–०, ६–१ को स्कोरले पराजित गरी विजयी भएका छन् । आइतबार दुई र सोमबार दुई फाइनल खेल हुने जनाइएको छ । यस्तै, महिला सिंगल्सतर्फ नेपाल आर्मीकी शिवली गुरुङले बागमतीकी प्रज्ना मानन्धरलाई ६–०, ६–० को स्कोरले र आर्मीकी स्वस्तिका विष्टले बागमतीकी प्रकृति श्रेष्ठलाई ६–२, ६–२ को स्कोरले पराजित गर्दै शुक्रबार फाइनलमा प्रवेश गरेका थिए ।