नेपालगञ्जको धम्बोजी – नन्दनी मिल सडक चार लेनमा विस्तार हुँदै

नेपालगञ्जको धम्बोजी – नन्दनी मिल सडक चार लेनमा विस्तार हुँदै

३ मंसिर बाँके । बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोकदेखि नन्दनी मिलसम्मको हुलाकी सडक चार लेनमा स्तरोन्नति गर्ने काम सुरु भएको छ ।नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत पर्ने एक हजार ९२० मिटर लामो सडक ३९ करोड ८४ लाख एक हजार २१९ को लागतमा स्तरोन्नति गर्न लागिएको हो ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरिएको जानकारी दिए ।उनका अनुसार निर्माण व्यवसायी हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिसँग २०८३ कात्तिक २० गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०८४ कात्तिक १९ गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि छ महिनाभित्रै निर्माण सक्ने लक्ष्य राखिएको छ ।