२० कार्तिक काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।प्रधानमन्त्री कार्यालयको नियमित पत्रकारकार सम्मेलनमा शुक्रबार प्रवक्त हेमराज अर्यालले शुक्रबार बिहान ९ बजेसम्म कोषमा १८ अर्ब ३९ करोड ७० लाख ४५ हजार २१६ रुपैयाँ जम्मा भएको जानकारी दिए ।देशको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्य प्रभावकारी बनाउन प्रधानमन्त्रीले निर्देशन दिएको कार्यालयले जनाएको छ।
नागरिकको जिउधनको सुरक्षामा कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन तथा शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउन पनि निर्देशन दिइएको छ।यसैबीच, प्रधानमन्त्रीले भारतीय विदेश सचिव विक्रम मिस्रीसँगको भेटमा नेपालमा हालै गएको बाढीपहिरोपछि भारत सरकारले उद्धार तथा राहत सामग्री उपलब्ध गराएर गरेको सहयोगप्रति आभार व्यक्त गरेका कार्यालयले जनाएको छ।कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक पनि शुक्रबारदेखि सुरु भएको छ। बैठकमा हालसम्म सम्पादन भएका कार्यक्रम तथा क्रियाकलापको समीक्षा र आगामी कार्ययोजनाबारे छलफल भइरहेको छ।