४ कात्तिक काठमान्डौ । आज नेपालीहरूको महान् धार्मिक तथा सांस्कृतिक पर्व बडादसैँको मुख्य दिन विजयादशमी हो । असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको तथा आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी नेपाली समाजको मौलिक धार्मिक एवं सांस्कृतिक पहिचानसँग अभिन्न रूपमा जोडिएको पर्व हो ।विजयादशमीको टीका लगाउँदा कुन दिशातर्फ फर्किने भन्ने विषयमा पनि सर्वसाधारणको विशेष चासो रहने गरेको छ । नेपाली समाजमा टीकाको साइतसँगै दिशाको विचारलाई पनि महत्त्व दिने परम्परा छ ।
ज्योतिषीय मान्यताअनुसार विभिन्न शुभकार्यमा दिशा विचार गर्ने चलन रहिआएको छ ।तर दिशासम्बन्धी निर्णय प्रत्येक वर्षका लागि एउटै हुन्छ भन्ने छैन । त्यसैले सम्बन्धित वर्षको पञ्चाङ्गीय गणना र आधिकारिक सूचनालाई आधार मान्नु आवश्यक हुन्छ ।यस वर्ष आज चन्द्रमा कुम्भ राशिमा पश्चिम दिशातर्फ रहने भएकाले टीका लगाइदिने मान्यजन पश्चिमबाट पूर्वतर्फ र टीका थाप्ने व्यक्तिहरु पूर्वबाट पश्चिमतर्फ फर्किनुपर्दछ ।