नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

 १३ आश्विन बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा तथा उपशाखा नहर विस्तार गर्न सुरु गरेको छ ।खजुरा र बैजनाथ गाउँपालिका क्षेत्रमा थप सिँचाइ सुविधा पुर्‍याउन आयोजनाको पश्चिम मूल नहर अन्तर्गत गुरुवागाउँ शाखा र उपशाखा नहर निर्माणका लागि बाँकेका विभिन्न स्थानमा जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिए ।उनका अनुसार, जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत २०८३ असोज ८ गते सूचना जारी गर्दै जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ अनुसार सो कार्यका लागि जग्गा अधिग्रहण गर्न लागिएको जानकारी दिइएको छ ।हालको खजुरा गाउँपालिकाका वडा नम्बर १, २, ५, ८ र ९ साविक राधापुर गाविस वडा नम्बर ४ र ७, साविक सीतापुर गाविस वडा नम्बर ३, ६ र ८, साविक उढरापुर गाविस वडा नम्बर १ र ३ तथा साविक रनियापुर गाविस वडा नम्बर ३, ६ र ९ र बैजनाथ गाउँपालिकाका वडा नम्बर ५ र ६ साविक वनकटवा गाविस वडा नम्बर ४ र ५ भित्र पर्ने जग्गाहरू अधिग्रहण गरिने छ ।

सम्बन्धित जग्गाधनी वा निजको नियमानुसारको वारिसलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय वा सिक्टा सिँचाइ आयोजनाको कार्यालयमा निवेदन दिई मुआब्जा दाबी गर्न आग्रह गरिएको आयोजना निर्देशक आचार्यले जानकारी दिए ।अधिग्रहण गरिने जग्गामा घर, गोठ, पर्खाल वा रुख–बिरुवा आदि भएमा सोको विवरण निवेदनमै स्पष्ट रूपमा खुलाई त्यस्ता संरचना तथा रुख–बिरुवाहरू बढीमा एक महिनाभित्र उठाई जग्गा खाली गरिदिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।सिक्टा सिँचाइको पश्चिमी मूल नहर बाँके जिल्लाको राप्ती नदीको पश्चिम भेगको ३३ हजार ७६६ हेक्टर जमिन र पूर्वी मूल नहरले राप्ती नदीको पूर्वी भेगको करिब ९,००० हेक्टर गरी कूल ४२ हजार ७६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य रहेको छ । हाल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आयोजना निर्देशक आचार्यले बताए ।