१३ असोज काठमान्डौं । म्यान्मारको पश्चिमी रखाइन राज्यमा सेनाले विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा हवाई हमला गर्दा कम्तीमा ४९ जनाको मृत्यु भएको छ । घटनामा ५८ जना घाइते भएका छन् ।अराकान आर्मी र उद्धार कार्यमा संलग्न एक अधिकारीका अनुसार सोमबार क्याउक्ताव टाउनसिपको स्थानीय बजारनजिक एक लडाकु विमानले दुईवटा बम खसालेको थियो । मृतकमा बजारका व्यापारी, सामान किन्न आएका ग्राहक तथा बाटो हिँडिरहेका सर्वसाधारण रहेको बताइएको छ । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अराकान आर्मीले जनाएको छ ।

रखाइनमा उद्धार कार्यमा संलग्न वरिष्ठ अधिकारी वाई हुन आङले घटनास्थलमा रहेका उद्धारकर्मीबाट प्राप्त विवरणका आधारमा हताहतको संख्या पुष्टि गरेको एसोसिएटेड प्रेसले जनाएको छ । उनका अनुसार उक्त बजार राज्यकै प्रमुख थोक व्यापार केन्द्रमध्ये एक थियो, जहाँ विभिन्न क्षेत्रबाट व्यापारी तथा ग्राहक आउने गरेका थिए ।