१२ आश्विन काठमाडौं । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशभर भएको भारी तथा अति भारी वर्षा पश्चात देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण २१ जनाको ज्यान गएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको विज्ञप्ति अनुसार वर्षाजन्य विपद्मा परी ५ जना बेपत्ता भएका छन् भने ५ जना घाइते भएका छन् ।

यस प्राकृतिक विपत्तिबाट ७४७ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।प्राधिकरणले विपद् प्रतिकार्यका लागि सबै सरकारी संयन्त्रहरू परिचालित गरिएको जनाएको छ ।बाढी तथा पहिरोको उच्च जोखिममा परेका प्रभावित जिल्ला हरूबाट करिब २ हजार नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उद्धार गरिएका नागरिकका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा आवश्यक राहत तथा बन्दोबस्तीको व्यवस्था मिलाइएको छ ।जाजरकोट, म्याग्दी र बागलुङ लगायतका जिल्लामा नेपाली सेना तथा सुरक्षा निकायको हेलिकोप्टर परिचालन गरी बाढीपहिरोमा फसेका व्यक्तिहरूको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।