२१ भदौ बाँके । रसुवाको भोटेकोशी बाढीपश्चात् हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँके जिल्लाबाट १६ आफन्तको ‘डीएनए’ नमूना सङ्कलन गरिएको छ ।रसुवा, भोटेकोशी तथा त्रिशूली कोरिडोरमा आएको विनाशकारी बाढीका कारण बाँके जिल्लाका धेरै व्यक्ति बेपत्ता भएका र फेला परेका कतिपय शवहरू क्षतविक्षत भई पहिचान गर्न कठिन भएकाले बाँकेबाट १६ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।उनका अनुसार, नेपालगञ्जमा सम्पर्कमा आएका १६ जना आफन्तको भेरी अस्पतालमा डिएनए नमूना सङ्कलन गरिएको हो । अन्य आफन्तको काठमाडौँ र चितवनस्थित अस्पतालमा डिएनए नमूना सङ्कलन गरिएको छ ।
डिएनए परीक्षणका लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमूना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।शव पहिचानका लागि डिएनए परीक्षणका लागि नमूना पठाएपछि बाढीपछि बेपत्ता दाजु–भाउजू र छोराको शव पहिचान हुनेमा आफू आशावादी भएको नेपालगञ्ज–२० निवासी अनलाल रोकायले बताए । भोटेकोशीमा आएको बाढीपश्चात् उनको १९ वर्षीय एक्लो छोरा दीपक, दाजु ५३ वर्षीय शेरसिंह र भाउजू ५६ वर्षीय विष्णुमतीलाई एकैसाथ बेपत्ता भएका छन् ।