१६ भदौ काठमाडौं । नुवाकोट र रसुवाको सीमावर्ती बेत्रावती अहिले बजार रहेन। यो ऐतिहासिक बजार अहिले पूरै खण्डहर र बगर बनेको छ। जहाँ केही दिनअघि घर, पसल, बैंक, विद्यालय र मानिसहरूको चहलपहल थियो, त्यहाँ अहिले माटो, लेदो र बाढीले बगाएर ल्याएका अवशेष मात्रै छन्।उत्तरगयामा नुहाउने र गोसाईकुण्ड, मानसरोबर जानेहरूका कारण यो बजार गुल्जार थियो । तर त्यही गुल्जार बजार अहिले बगर बनेको छ। बगर बनेको त्यही ऐतिहासिक बेत्रावतीको एउटा घरभित्र सोमबार देखिएको दृश्यले विपद्पछिको उद्धार व्यवस्था र सरकारको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ।
एउटै घरभित्रबाट २२ वटा शव
नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित बाढीले पुरिएको घरभित्र २२ वटा शव भेटिए। तीमध्ये सुरक्षाकर्मीले सोमबार ६ वटा शव निकाले। बाँकी १६ शव मंगलबार निकालिएको छ। बाढी आएको छैटौँ दिनमा एउटै घरभित्र यति ठूलो संख्यामा शव भेटिएपछि सरकार र उसको उद्धार प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ।
स्थानीयस्तरमा सरकारको भूमिकालाई लिएर कडा आलोचना भइरहेको छ। भोटेकोशी बाढीको लपेटमा पर्नबाट केही सेकेन्डले बाँचेका स्थानीयका मनमा अनेक प्रश्न र आक्रोश छन् । तर उनीहरू आफैं थला परेका छन् । तर एउटा प्रश्न उठेको छ, उक्त घरबारे पहिले नै सूचना दिँदा पनि किन सरकारले लापरवाही गर्यो, खोजीकार्य किन यति ढिलो भयो , यो प्रश्न अझ गम्भीर बन्नुको कारण हो, उक्त सम्भावित स्थानबारे बेत्रावती निवासी पत्रकार लक्ष्मण डंगोलले बाढी आएको भोलिपल्टैदेखि स्थानीय प्रशासन, गृहमन्त्रालय र प्रधानमन्त्रीको कार्यालयसहितका विभिन्न निकायलाई जानकारी गराउँदा पनि भएको गम्भीर बेवास्ता ।बेत्रावतीमा सक्रिय पत्रकार डंगोलका अनुसार उनले बाढीपछि सम्भावित रूपमा मानिस फसेका स्थान पहिचान गरेर प्रहरी, जिल्ला प्रशासनदेखि गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयसम्म उद्धारका लागि आग्रह गरिएको थियो।तर उनको आग्रह र बिन्तिभाउलाई सरकारले सुनेन।
उल्टै बेत्रावतीमै भेटेका गृहमन्त्री सुधन गुरुङले आफ्नो अपमान गरेको तीतो अनुभव उनीसँग छ। उनको भनाइमा आफ्नो आग्रहले सरकारको नजरमा समयमै प्राथमिकता पाएनन्।सोमबार त्यही घरबाट धमाधम सडिसकेका शवहरू निकाल्नन थालेपछि उनको आक्रोश झनै बढेको छ। ती शवहरू लामो समयसम्म लेदो र भग्नावशेषभित्र थुनिएका कारण पहिचान गर्नसमेत कठिन अवस्थामा छन्।यस्तो अवस्थामा प्रश्न केवल उद्धार ढिलो भयो कि भएन भन्ने होइन। समयमै सूचना पुगेको थियो भने त्यसलाई राज्यको संयन्त्रले कति गम्भीरतापूर्वक लियो गृहमन्त्री सुधन गुरूङ आफैं उद्धारमा लागेका बेला पनि किन त्यो सूचनालाई बेवास्ता गरिदिए ।