१६ भदौ काठमान्डौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजमार्ग सडक किनारका रूखहर काटेको विषयमा मिलेमतो भएको ठहर गर्दै गाउँपालिका अध्यक्ष, तत्कालीन सडक डिभिजन कार्यालय दाङका प्रमुख सहित नौ जना विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ।सोमबार दायर गरिएको आरोप पत्रमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका – १ पाखापानीदेखि लमही नगरपालिका – ४ अर्नहवासम्मका राजमार्गको दायाँरबायाँ सडक किनारका सिमल, सिसौ लगायतका विभिन्न जातका २ हजार ७ सय २४ वटा रूखहरू काट्दा स्थानीय पालिका, डिभिजन सडक, वन कार्यालय लगाएतमा आपसी मिलेमतो तथा बदनियत राखेर आपसी सूचना प्रकाशन गर्ने तथा गराउने कार्य गरेको देखिएको दाबी गरिएको छ।
ती रूखहरू काटेर गायब पारी ८१ लाख ३७ हजार ९०० बराबर हानि नोक्सानी पुर्याएको अभियोग अख्यितारको छ।अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार तत्कालीन सडक डिभिजन कार्यालय दाङका प्रमुख राम पुकार जयसवाल, तत्कालीन डिभिजन वन कार्यालय देउखुरीका वन अधिकृत राजु क्षेत्री, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, राप्ती – १ का वडाध्यक्ष गेमे खड्का, राप्ती – ४ का वडाध्यक्ष वीरबहादुर चौधरी, राप्ती– ४ का स्थानीय अभिमान चौधरी, राप्ती– ४ का स्थानीय नन्दु गिरी, राप्ती– २ का स्थानीय झविन्द्रप्रसाद भण्डारी र लमही–२ का स्थानीय केशरबहादुर चौधरीलाई बिपक्षी बनाई मुद्दा दायर गरिएको हो।जसमा मुख्य कसुरदार सडकका जयसवाल र वनका क्षेत्रीलाई बनाइएको छ।