१५ भदौ काठमान्डौ । भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको विवरण समेटेर सरकारी निकायले निकालेको रिपोर्ट र विवरणप्रति प्रश्न उठाउन थालिएको छ । बाढीबाट गम्भीर क्षति पुगेका स्थानलाई नै जानाजानी बेवास्ता गरेर विवरण तयार गरिएकोमा स्थानीयले विरोध जनाएका हुन् ।बुधबारको बाढीले नुवाकोटमा सबैभन्दा धेरै विदुर नगरपालिकामा क्षति पुर्याएको छ ।
तर सरकारी निकायले सार्वजनिक गरेको विवरणमा प्रभावित क्षेत्रलाई नै छुट्याइएको स्थानीयको ठहर छ । सिडिओ कार्यालयदेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसम्मको विज्ञप्तिमा विदुर नगरपालिका वडा नम्बर ३, ६ र १२ मा भएको जनधनको क्षतिको विवरण लुकाइएको स्थानीय उद्धव अर्यालको आरोप छ ।त्रिशुली नदीका दुई किनारमा रहेका बस्तीमा अवस्था फरकफरक हुनसक्ने भएकोले एउटै अनुमानका आधारमा नभई वास्तविक प्रभावित क्षेत्रमै पुगेर वडा–वडाको तथ्याङ्क संकलन र पीडित परिवारको यकिन विवरणसहित सूचना सार्वजनिक गर्न अर्यालको सुझाव छ ।