१४ भदौ काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा सुरु हुँदैछ । प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ ।
नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स युएई, कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् ।समूह चरणमा नेपालले भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुनेछ । ५० ओभरको प्रिमियर कपमा नेपालले पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ । मलेसियाविरुद्धका पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित छ ।हालै भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो । प्रिमियर कपमा मलेसियाविरुद्ध नेपालको यो दोस्रो भेट हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा नेपालले मलेसियालाई छ विकेटले हराएको थियो ।नेपालले तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ ।