कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालको दोस्रो जित

कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालको दोस्रो जित

१० भदौ काठमाडौं । कप्तान कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपाल ‘ए’ले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

नेपालले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसीटी विरुद्ध चार विकेटको जित निकालेको हो ।डार्विनस्थित मरारा क्रिकेट मैदानमा एसीटीले प्रस्तुत गरेको १४१ रनको लक्ष्य नेपालले चार बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्‍यो ।नेपालका कुशलले सर्वाधिक ६१ रनको योगदान गरे । उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । यसैगरी, पवन सराफले अविजित २९, मयन यादवले २१ र लोकेश बमले १२ रन बनाए ।

एसीटीका जेक केओघले तीन र जित मेहताले दुई विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एसीटीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४० रनको योगफल तयार पारेको थियो ।यसअघि नर्दन टेरिटोरी स्ट्राइकसँग आठ तथा बंगलादेश हाइ प्रफर्मेन्स टिमसँग नौ विकेटको फराकिलो हार व्यहोरेको नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो ।एसीटीले यसअघि किंग्समेन एकेडेमीसँग ६, न्युजिल्यान्ड ‘ए’सँग आठ र नर्दन टेरिटोरीसँग ६ विकेटको हार व्यहोरेको थियो ।अब नेपालले बिहीबार किंग्समेन एकेडेमीको सामना गर्नेछ ।