प्रेमीसँग मिलेर पतिको हत्या, पाँच जना पक्राउ

प्रेमीसँग मिलेर पतिको हत्या, पाँच जना पक्राउ

१० भदौ,कैलाली । पत्नीले प्रेमीसँग मिलेर पतिको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा मृतककी पत्नीसहित पाँच जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका–४ का ३३ वर्षीय दीपक सुनार गत साउन २२ गते बिहानदेखि हराएका थिए । उनी जानकी गाउँपालिका–९ अमरावतीस्थित ससुरालीबाट हराएका बताइएको छ ।

त्यसपछि उनकी पत्नी यमुना सुनारले इलाका प्रहरी कार्यालय लम्कीमा पति दीपक हराएको भन्दै खोजतलासका लागि जानकारी गराएकी थिइन् ।प्रहरीले खोजतलाससँगै प्रारम्भिक अनुसन्धान अघि बढाउँदा यमुनाले प्रेमीसँग मिलेमतो गरी पति दीपकको हत्या गर्ने योजना बनाएको तथ्य खुलेको जनाएको छ ।अनुसन्धानका क्रममा दीपकको अमरावती जंगलमा हत्या गरी शव मोटरसाइकलमा राखेर कर्णाली नदीमा फालेको खुलेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न आरोपमा प्रहरीले पत्नी यमुना, लम्कीचुहा–१० का ४१ वर्षीय दुर्योधन सुवर्णकार, टीकापुर–३ का ३२ वर्षीय रामराजेश महतो, कञ्चनपुरको बेलौरी–९ का ५६ वर्षीय वीरेन्द्र राना र बेलौरी–८ का ३२ वर्षीय भीमा रानालाई पक्राउ गरेको छ ।उनीहरूलाई कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेकाहरूलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।