२८ साउन काठामान्डौं । एक शताब्दीभन्दा लामो समयपछि स्पेनमा देखिएको खग्रास सूर्यग्रहण हेर्न बुधबार सहरदेखि ग्रामीण क्षेत्रसम्म लाखौँ मानिस भेला भए ।सूर्य, चन्द्रमा र पृथ्वी एकै सीधा रेखामा परेपछि केही समयका लागि दिनमै अँध्यारो छाएको अद्भुत दृश्य हेर्न स्पेनसँगै पोर्चुगल, आइसल्यान्ड र अन्य क्षेत्रबाट समेत मानिस पुगेका थिए ।
खग्रास सूर्यग्रहणको प्रतीक्षामा मानिसहरू ल्यानका कुर्सी, छाता र सूर्य हेर्न प्रयोग गरिने विशेष चश्मासहित खुला स्थानमा भेला भएका थिए ।आकाश सुरुमा बिस्तारै र पछि तीव्र रूपमा अँध्यारिँदै गएपछि भीडले ताली बजाउँदै खुसी व्यक्त गरेको थियो । चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढाकेपछि केही समयका लागि दिन रातजस्तै देखिएको थियो ।उत्तरपूर्वी स्पेनको प्राचीन रोमनकालीन पहाडी सहर मेडिनसेलीबाट ग्रहण हेरेकी भाषा शिक्षिका रोजा सेलिबर्टीले प्रत्यक्ष दृश्यलाई अविस्मरणीय अनुभवका रूपमा वर्णन गरिन् । उनले जति तस्बिर वा भिडियो हेरे पनि प्रत्यक्ष खग्रास सूर्यग्रहणको अनुभवसँग त्यसको तुलना हुन नसक्ने बताइन् ।