थाइल्यान्डमा १४ वर्षीय किशोरले चलाएको गोलीबाट ८ जनाको मृत्यु

थाइल्यान्डमा १४ वर्षीय किशोरले चलाएको गोलीबाट ८ जनाको मृत्यु

२३ साउन काठमान्डौं । थाइल्यान्डको राजधानी बैंककमा १४ वर्षीय एक किशोरले गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ । गोली लागेर २२ जना घाइते भएका छन् ।सुरुमा आफू बस्दै आएको घरमा हजुरबुबा र हजुरआमाको हत्या गरेका उनी पछि देब्सिरिन नामको विद्यालयमा पुगेर गोली चलाएका थिए ।विद्यालयमा उनले चलाएको गोली लागेर पाँच शिक्षकको ज्यान गएको थियो । गोली लागेर घाइते भएका एक विद्यार्थीको पनि उपचारका क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तमा किशोरले आफैंलाई गोली हानेका थिए ।प्रहरीका अनुसार किशोरले शुक्रबार स्थानीय समयअनुसार बिहान करिब ५ बजे ७३ वर्षीय हजुरबुबा र ७४ वर्षीया हजुरआमालाई गोली हानेका थिए । त्यसपछि उनी बन्दुक र दर्जनौँ गोली बोकेर विद्यालय जाने बसमा चढेको रोयटर्सले जनाएको छ । उनी बिहान ८ – ३० बजे पहिलो कक्षामा सहभागी भएका थिए भने ९-२० बजे दोस्रो कक्षा सुरु भएको थियो ।दोस्रो कक्षा सुरु भएको करिब आधा घण्टापछि उनले बन्दुक निकालेर गोली चलाउन थालेका थिए । प्रहरीका अनुसार उनले विद्यालयको छैटौँ तलामा रहेका शिक्षकहरूमाथि गोली चलाएका थिए, जहाँ तीन शिक्षकको मृत्यु भयो । त्यसपछि उनी भर्‍याङबाट तल झर्दै गर्दा भेटिएका अरु दुई जनालाई पनि गोली हानेर हत्या गरेको प्रहरी अधिकारीले बताएका छन् ।गोली चलेपछि प्रहरी घटनास्थलमा परिचालन भएको थियो । बिहान करिब १०-४० बजे प्रहरीले किशोरलाई आफैंलाई गोली हानेको अवस्थामा फेला पारेको जनाएको छ ।