राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै, आजै एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी

54Shares
राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै, आजै एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी

बिहिबार, २१ असार, २०८०,

काठमाडौं,

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि आज १ वजे देखि बोर्डको बैठक बस्दै छ । बुधबार नै नतिजा प्रकाशनको तयारीका लागि बोर्डको बैठक बोलाए पनि त्रुटि सुधारका लागि बैठक बिहीबारका लागि सारिएको थियो ।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले एसईईको नतिजा प्रकाशनको अन्तिम चरणमा पुगेको जानकारी दिए । सकेसम्म बिहीबार साँझ नै नभए शुक्रबारसम्म नतिजा आइसक्ने उनले बताए ।

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । यसअघि सोमबार बसेको बोर्ड बैठकले गत वर्षकै निर्णयको आधारमा यसपालि पनि पुरानै निर्देशिकाअनुसार नतिजा प्रकाशन गर्ने निष्कर्ष निकालेको छ । गत वर्ष लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको थियो ।

निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनु पर्ने व्यवस्था छ भने २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी पास हुने व्यवस्था गरिएको छ । नयाँ निर्देशिका २०७८ लागू हुँदा विद्यार्थी नन् ग्रेडिङमा पर्ने सम्भावना रहन्छ ।

गत वर्ष कक्षा १२ को नतिजा नयाँ निर्देशिकाअनुसार सार्वजनिक गर्दा करिब ५० प्रतिशत विद्यार्थी नन्ग्रेडिङमा परेका थिए । दुई विषयसम्म नन् ग्रेडिङ परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ भने त्यो भन्दा धेरै विषयमा नन्ग्रेडिङ भए अर्को वर्ष ती विषयको परीक्षा दिन पाइने व्यवस्था गरिएको छ ।

यसअघि दुई भन्दा धेरै विषयमा नन्ग्रेडिङ आए सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।