बिहिवार, २५ जेठ, २०८०
काठमाडाैं
पार्टी एकता अभियानको संयोजन गरिरहेका नेता वामदेव गौतमले एमालेमै फर्किएर पार्टीमा क्रियाशील हुने र सदस्यता पनि नवीकरण गर्ने घोषणा गरेका छन् । ७० वर्षे उमेरहद हटाइएको निर्णय सार्वजनिक भएलगत्तै उनले यस्तो भनेका हुन् ।
बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले भने, ‘उमेरहद हटाइएको अवस्थामा हामी एमालेमा जान्छौँ, म मेरा साथीहरूसहित एमालेमै फर्किन्छु,मेरो पनि सदस्यता नवीकरण गर्न म श्रीमतीलाई पठाउँछु, र सदस्यता नवीकरण गर्छु ।’
एमालेमै फर्किए पनि आफूलाई अध्यक्ष वा महासचिव बन्ने रहर भने नरहेको उनले प्रस्ट्याएका छन् र केपी ओलीले आफ्नै लागि उमेरहद हटाइएकोे जानकारी गराउनुपर्ने पनि उनले बताए ।
गौतम एमालेमा फर्किने अन्तिम निष्कर्षमा पुगेकै वेला अघिल्लो साता उनीनिकट एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठले एकताको अगुवाइ गर्न अनुरोध गर्दै अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए । एमाले र एकीकृत समाजवादीसँग एकताका लागि समानान्तर संवादमा रहेका गौतमले एमालेमा फर्किन उमेरहद हटाउनुपर्ने सर्त राख्दै आएका थिए ।
गौतम एमाले प्रवेश गर्दा एकीकृत समाजवादीमा रहेका श्रेष्ठसहित बलराम बाँस्कोटा, सावित्रा भुसालसहितको ठूलो समूह, एकता अभियानमा गौतमको नेतृत्वमा रहेको हरि पराजुलीसहितको समूह पनि एमालेमै फर्किने तयारीमा छ । गौतमसँग समेत संवादमा रहेका एकीकृत समाजवादीका उपाध्यक्ष श्रेष्ठले आफूले माधव नेपालसहित सबै पुराना एमाले नेताहरूलाई मिलाएर पार्टी एकता गर्न र सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने अभियानको नेतृत्व लिन ओलीलाई प्रस्ताव गरेको प्रस्ट्याए ।