मलेसियास्थित नेपाली राजदूतावासले १५ वैशाखबाट पुनः श्रम स्वीकृति लिने र सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्य अगाडि बढाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्बन्धित दूतावासबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था गरेको थियो । सोही आधारमा दूतावासले मलेसिया र ब्रुनाईमा रहेका नेपालीले पुनः श्रम स्वीकृतिको कार्य अगाडि बढाउन लागेको हो ।
अनलाइन मार्फत आवेदन दिनुपर्ने हुन्छ । त्यस्तै विदेशमा रहि स्वरोजगारमा रहेका नेपाली नागरिकहरु स्वेच्छाले सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्य समेत अगाडि बढाउन लागेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ । नेपालको सामाजिक सुरक्षा कोषमा आवद्ध हुनको लागि https://sosys.ssf.gov.np/ वेभ पेजमा गई वैदेशिक रोजगारी सूचीकरणमा क्लिक गरी अनलाइन आवेदन फाराम भर्नुपर्ने हुन्छ । वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र नियमानुसारको बीमा वापतको रकम (www.ssf.gov.np वा www.sosys.ssf.gov.np) बाट भुक्तानी गरी सोको निस्सा अनलाईन प्रणालीमा गर्नुपर्ने दूतावासले जनाएको छ ।
पुनः श्रम स्वीकृति लिने वा सामाजिक सुरक्षा कोषमा आवद्ध हुने सम्बन्धी थप जिज्ञासा भए नेपाली राजदूतावासका श्रम काउन्सेलर वा श्रम सहचारीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।