भिसा शंकास्पद रहेको भन्दै ११७ जना श्रमिक विमानस्थलबाटै फिर्ता

भिसा शंकास्पद रहेको भन्दै ११७ जना श्रमिक विमानस्थलबाटै फिर्ता

बिहिबार, २८ असार, २०८०,

काठमाडौं,

भिसा शंकास्पद रहेको भन्दै त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ । अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको हो ।

अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको देखिएको भन्दै फर्काइदिएको हो । विभिन्न म्यानपावर कम्पनीमार्फत विभिन्न कम्पनीहरुमा काम गर्न भन्दै वैदेशिक रोजगार विभागबाट उनीहरूले श्रम स्वीकृति पनि लिइसकेका थिए । फर्काइएकामध्ये करिब आधा महिला छन् ।

अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीका अनुसार श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र ब्यागेजमा अर्को भिसाको कागजात रहेको पुष्टि भएपछि उनीहरुलाई फर्काइएको हो । उनका अनुसार पछिल्ला केही दिनमा कुवेतमा यस्तो भिसामा जानेहरुको संख्या बढेपछि जानेहरुसँग सोधपुछ बढाइएको थियो । त्यही क्रममा बुधबार कुवेत जान हिंडेकाहरुसँग अनौपचारिक रुपमा सोधपुछ गर्दा राहदानीमा एउटा भिसा लगाएर र कागजातमा अर्कै काम गर्ने गरी जान लागेको पुष्टि भएको विभागको दाबी छ ।

स्रोतका अनुसार इन्डेक्स म्यानपावरबाट ४७, युथ म्यानपावरबाट ३२ र निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत ४ जना श्रमिकले कुवेतको भिसा लगाएर श्रम स्वीकृति पाएका थिए ।

वैदेशिक रोजगार व्यवसायी संघले भने अध्यागमन कार्यालयको कदमको विरोध गरेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारी श्रम स्वीकृति लिएर हिंडिसकेका श्रमिकलाई विना कारण रोकेर दुःख दिने काम मात्रै भइरहेको बताउँछन् ।