काठमाडौं – सरकारले अनुचित लेनदेन ( मिटर ब्याज ) बारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरे संगै चर्को ब्याजदरमा ऋण लगानी गर्ने धनीहरुले यौनशोषण समेत गर्ने गरेको पीडित महिलाहरूले खुलाएका छन् । ऋणको चर्को ब्याज असुल्ने क्रममा धनीले गर्ने ब्यवहार र दबाबका कारण कतिपय ऋणी आत्महत्याको बाटो रोज्न बाध्य हुने गरेको बताए ।
सरकारले गठन गरेको मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी जाँचबुझ आयोगसमक्ष पीडित र सरोकारवालाहरुले मिटरब्याजको जालोका कारण समाज नराम्ररी प्रभावित भइरहेको भन्दै कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य उत्तमराज सुबेदीले जिल्ला प्रसासन कार्यालयमा मिटर ब्याज पीडित संघर्ष समितिका पदाधिकारी, राजनैतिक दलका प्रतिनिधिहरु र स्थानीय प्रशासनसँग छलफल गरेको छ । छलफलका क्रममा आयोगका अध्यक्ष कार्कीले चर्को ब्याज असुल्ने नाममा ऋणीको यौन शोषणसम्म गरेका विषयहरु आयोगसमक्ष आएको बताए । उनले चर्को ब्याजदरमा ऋण लगानी गर्नु अवैध र गैरकानुनी रहेकोले त्यस्ता कार्यमा संलग्नलाई अब कानुनी दायरामा ल्याउन कानुन समेत आइसकेको बताए ।
जिल्ला प्रशासन कार्यालयहरुमा सहयोग डेस्क स्थापना भएको बताउँदै अध्यक्ष कार्कीले उक्त डेस्कमा गई आवश्यक फारम भर्न पीडितहरुलाई सुझाव दिए । ‘पीडितहरुले फारम भर्दा सकेसम्म भएका प्रमाण समेत त्यसैसाथ संलग्न गराउनुपर्छ’ उनले भने, ‘बैकबाट ऋण उपलब्धता सहज नहुँदा मिटर ब्याजमा फस्नेहरुको संख्या बढ्यो ।’