भ्रस्टाचारको जुनसुकै फाइल खोल्न तयार : प्रधानमन्त्री प्रचण्ड

51Shares
भ्रस्टाचारको जुनसुकै फाइल खोल्न तयार : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – सोमबार बिहान प्रेस सेन्टरले चितवनमा आयोजना गरेको ‘पत्रकारसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले रास्वपा सरकारमा आए आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताएका हु्न्। उनले रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरेका छन्।

‘सरकारकामा सहभागी हुनेबारे उहाँले पनि आफ्नो पार्टीमा सल्लाह गर्ने र मैले पनि गठबन्धनमा छलफल गर्ने र केही दिनपछि फेरि भेट्ने र एउटा टुङ्गोमा पुग्ने भनेका छौं,’ प्रधानमन्त्रीले भने,‘समर्थन फिर्ता लिने स्थिती बन्ने मैले देखेको छैन।’ सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको प्रधानमन्त्रीले बताएका छन् ।

‘पहिलाकै मन्त्रालय खोज्नु अस्वभाविक होइन। त्यसैमा अडिनुहुन्छ भन्नेपनि ठानेको छैन। फेरि त्यही भन्ने चाहीँ हुँदैन,’ उनले भने। छलफलमा रवि लामिछानेले पुरानै मन्त्रालयको दाबी नगरेको पनि प्रधानमन्त्रीले बताए।

प्रधानमन्त्री प्रचण्डले सरकार पाँचै वर्ष टिक्ने बताउँदै सरकारको भविष्यलाई लिएर भएका चर्चा भ्रमपूर्ण रहेको बताए।  ‘तपाईँ आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्यो  म तयार छु,’ प्रधानमन्त्री प्रचण्डले भने । सबै मिलेर नै देश बनाउने हो भन्दै प्रधानमन्त्री प्रचण्डले आगामी बजेट मार्फत जनतामा नयाँ उत्साह जाग्ने दाबी गरे ।